काठमाडाैं ।। नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गर्दैछन् । सङ्घीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराउनु भएको थियो । शपथग्रहण कार्यक्रम अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्नेछ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने पाण्डेले बताउनुभयो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी हुनेछन् ।





