राैतहट ।। नेकपा एमालेको टिकट ‘होल्ड’ गरेर रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चुनाव जितेका छन् । सत्तारुढ र प्रतिपक्षी दुवै गठबन्धनले बहुमत ल्याउन नसकेको बेला साहलगायत स्वतन्त्र जितेका सांसद तानातानमा छन् । त्यसैले चुनाव जितेपछि साह काठमाडौंका राजनीतिक भेटघाटमा व्यस्त छन् । साहले अघिल्लो बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मासँग भेटघाट गरेका थिए ।
साह एमालेबाट पाएको टिकटमा नलडेर रौतहट ३ बाट स्वतन्त्र चुनाव लडेर सत्ता गठबन्धनको सहयोगमा विजयी भएका हुन् । माओवादीबाट राजनीतिमा उदाएका साहले १० वर्षे सशस्त्र द्वन्द्वकालमा मधेसमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको रौतहटमा जनाधार पनि राम्रो छ । उनी रौतहटबाट चुनाव जित्दै आएका छन् । तत्कालीन नेकपा विभाजन भएपछि एमालेमा बसेका साह चुनावको मुखैमा स्वतन्त्र चुनाव लड्न बाहिरिएका हुन् ।
नेकपा विभाजन भएपछि एमालेमा बसेका साह त्यहाँ पनि सन्तुष्ट भने हुन सकेका थिएनन् । उनी एमालेमा बसेर मन्त्री पनि भए । तर, एमालेका केन्द्रीय कमिटी बैठकमा कमै मात्र सहभागी भए । एमालेको १०औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य चयन भएका उनी जसपासँगको चुनावी तालमेललाई कारण देखाएर एमालेको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिए ।
चुनाव जितेपछि साह के गर्छन् भन्नेमा धेरैको चासो छ । साह माओवादीमा अवसर पाउने नेतामा पर्छन् । तर, उनले राजनीतिमा अस्थिर छवि बनाएको उनका पूर्वसहकर्मी माओवादीहरू बताउँछन् ।
यो चुनाव जितेपछि उनी माओवादी प्रवेश गर्लान् वा नयाँ पार्टी गठन गर्लान् भन्ने जिज्ञासा थियाे । तर, उनी नयाँ पार्टी गठनतर्फ लागेको उनीनिकट नेता रामप्रित रामले बताए । उनले भने, ‘प्रभु साहको नेतृत्वमा पार्टी खोल्ने हल्ला होइन, अब वास्तविकता हो । यही ६ गते हामी तयारीका लागि बैठक बस्दैछौँ । त्यहीँबाट पार्टी खोल्ने प्रक्रिया अघि बढ्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here