सांकेतिक तस्विर

काठमाडाैं ।। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले सो आरोप लगाएका हुन् ।
उनले केपी ओलीलाई कसैले टक्‍कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । उनले सरकार ढलेपछि अहिले ओली उटपट्याङ कुरा गरिरहेका भन्दै ओलीका उटपट्याङ कुराहरूको संकलन गर्नुपर्ने बेला आएको बताए ।
अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताउँदै अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए । उनले भने– ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्‍कर दियौँ । टक्‍कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उटपट्याङ कुरा गरिरहेका छन् ।’ उनले थप भने– ‘आज उनले चुनावमा गरिरहेको खर्च हेर्नुस् त, अर्बौं अर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ ? आम्दानीको श्रोत के हो ? लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्याउने बताए । उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गरेको बताए । उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे ।
उनले भने, ‘हामीले सुकुम्वासी समस्यालाई देख्यौँ, त्यसको समाधान केही गर्यौं । ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्यौं । यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरूले नगरेको काम हामीले गरेका हौँ । बूढापाकालाई पेन्सन दिने काम गरेका छौँ । १०० बाट सुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्याउनेछौँ ।’
उनले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतिको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here