काठमाडाैं ।। आज तिहारको मुख्य दिनभाइटीका, दिदि बहिनीले आफ्ना दाजुभाईलाई सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । आजको दिनमा दिदिबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित सुख, शान्ती तथा दीर्घायुको कामना गर्ने गर्दछन् । दिदि बहिनीले आफ्ना दाजु भाइलाइ टीका लगाइदिँदा धार्मिक बिधि अनुसार मण्डप बनाइ अष्टचिरञ्जीविका साथै यमराज र यमुनाको पूजा गरि त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाइ नओइलाउने मखमली, दुबो र सयपत्री फूलको माला लगाउने परम्परा रहेको छ । कार्तिक शुक्ल द्वितीया तिथिमा पर्ने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस, मसला तथा सेलरोटी जस्ता मिष्ठान परिकार दिने चलन रहेको छ । त्यसैगरि दाजुभाइले दिदीबहिनीलाई दान–दक्षिणा तथा वस्त्र दिने परम्परा छ । यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइ टिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । साइतपछि दिनभर भाइटिका लगाउन सकिने समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
यसैबीचप्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुल्ला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानै देखि खुल्ने भएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here