रौतहट ।। रौतहटको गौर नगरपालिकाको कार्यालय नसजक रहेको बजारमा लक्ष्मीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दैछ । लक्ष्मी पूजा नजिकिएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहलसमेत बढेको देखिन्छ । कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रीवितरणमा वृद्धि भएको जनाइएको छ । पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोका भाँडा लक्ष्मीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल दिनेश पण्डितले बताए ।
चाडपर्व निजिकिँदै गर्दा ठाउँ÷ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैंटो लगायतका खरिदबिक्री भइरहेको दिनेश बताउँछन् । साथै नयाँ भाँडा चोखो भएको हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ । जिल्लाको झुनखुजवा, सुकदेव चौक, गरुडा, समनपुर, कटहरिया लगायतका विभिन्न ग्रामीण भेगका बजारमा पनि सुनदेखि नून सम्मको सामान मानिस किनमेल गरिरहेको पाइएको छ । यही कात्तिक ७ गते सोमबार हुने दिपावलीका लागि सजावटको समानसहित दिप, मैनवती अगरबत्ती, लड्डू र प्रसादका समानसमेत खरिदबिक्री बढेको छ । शनिबारदेखि सुरु हुने हिन्दूको चाडपर्व तिहारको लक्ष्मीपुजा (दिपावली) गाईपूजा, भरदुतीया, सूर्य देवतालाई अर्घ दिएर पूजा गरी तराई–मधेसका जिल्लामा छठपर्व मनाइने गरिन्छ ।





