काठमाडाैं ।। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् । शनिवार वाम–लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए ।
डा. महतले देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको बताए । उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यक्ता भएको जिकिर गरे ।
प्रवक्ता महतले रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताए । उनले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने बताए ।
महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताए । उनले नेपालमा शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण नरहेको बताउँदै संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती रहेको बताए ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीताले देश अस्थिरतातिर धकेलिएको आरोप लगाए । प्रवक्ता महतले गठबन्धनको मूल लक्ष्य प्रतिगमनको दिशामा देशलाई लैजाने प्रयासलाई रोक्न र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको दाबी गरे । उनले गठबन्धनको सहयोगमा नै कोभिड १९ को समस्या समाधान र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन गरेको दाबी गरे ।





