राैतहट ।। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीमाथि अराजनीतिक षडयन्त्र गरेको आरोप लगाएका छन् । बुधवार फेसबूकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले साहले पार्टीकै निर्णय अनुसार रौतहटको टिकट लिएको र अन्तिम समयमा आएर एमालेलाई धोका दिँदै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
उनले भनेका छन्,‘प्रभु साह जसपासँगको तालमेलको संझौता वैठकमा सहभागि हुनु भो । उक्त सहमती पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा वस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्र्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो ।’
महासचिव पोखरेलले राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ नहुने समेत बताएका छन् ।
साथै यो सत्ता गठबन्धनमा रहेका दलहरूसँगको षडयन्त्रपूर्ण साँठगाँठ भएको समेत उल्लेख गरेका छन् । महासचिव पोखरेलले लेखेका छन्,‘यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् ।’
मधेस प्रदेशमा नेकपा ‘एमाले’ र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउन समेत महासचिव पोखरेलले आह्वान गरेका छन् ।
