राैतहट ।। पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरुको साथ र कार्यकर्ताहरुको सक्रियताका कारण निर्वाचनमा विजयी हुने दाबी गरेका छन्। नेपालले आफ्नो पार्टीले जति ठाउँमा उम्मेदवारी दिएको छ त्यसमा गठबन्धनको साथ र कार्यकर्ताको सक्रियताबाट विजयी हुने बताए। उनले गठबन्धन दलमा कुनै गडबढ नभएको दाबी पनि गरे।
अध्यक्ष नेपालले रौतहट–१ आफ्नो जन्मभूमि भएको, हुर्के बढेको, राजनीति गरेको ठाउँ भएको स्मरण गरे। उनले भने, ‘काठमाडौंलाई गरेर मात्रै हुँदैन। योभन्दा पहिले रौतहट छोड्दा पनि अर्कोचोटी आउनुपर्छ है भन्नु भएको थियो। त्यसो हुनाले पालैपालो गरौंला भनेर फेरि आएको छु। र, जनताको साथ पाउँछु भन्ने पूर्ण विश्वास पाएको छु।’ नेपालले आइतबार दिउँसो निर्वाचन अधिकृत कार्यालय पुगेर रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार दर्ता गराएपश्चात् नेपालले यस्तो बताएका हुन्। उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्। गठबन्धनको सिटबाँडफाँडमा रौतहट- १ एसलाई दिइएको छ। यस्तै, प्रदेश सभातर्फ रौतहट क्षेत्र नम्बर १ को ‘क’बाट बाबुलाल शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने कार्यतालिका बनाएको हो। आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
Home प्रदेश समाचार मधेश प्रदेश गठबन्धनको साथ र कार्यकर्ताहरुको सक्रियताबाट विजयी हुने माधव नेपालकाे दाबी





