जनकपुर ।। तराई मधेशमा आज कोजाग्रत पूर्णिमा अर्थात् कोजगरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन पूजापाठका साथै नवविवाहित जोडीले विशेष पूजा आराधना गर्ने चलन छ । नव विवाहित बेहुली पक्षबाट बेहुलाको घरमा भार अर्थात् विशेष किसिमको कोसेली पठाउने परम्परा रहेको छ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कोशेली पठाउने चलन हुन्छ ।बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतासहित आशीर्वाद दिने प्रचलन छ । आजको दिन मिथिला क्षेत्रका प्रायः सबैले पान, मखान, मिठाइ खाने गर्छन् । आजको दिनलाई जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सवको रुपमा मनाइन्छ । जानकी मन्दिरका महन्थले भगवान् राम र सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् । आज महोत्तरीको रतौलीबाट भार पठाइन्छ । फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका एक सय ८ वटा भार पठाउने गरिन्छ । मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी भइरहेको छ ।





