काठमाडाैं ।। आगामी मङ्सिर ४मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फकोउम्मेदवारी दर्ता आज गरिँदैछ । निर्वाचन आयोगले इच्छुक उम्मेदवारहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन गर्न सक्ने बताएको छ । मनोनयनका लागि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना भइसकेका छन् भने बिहान १० देखि साँझ ५ बजेसम्मउम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । ५ बजेभन्दा पछिको समयमा मनोनयन दिन आउनेको भने निवेदन नलिने आयोगले प्रष्ट पारेको छ । आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढीपहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेको भए आज बिहान १० बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिङ्ग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गर्नुभयो । आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न पनि प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा ८७ दल दर्ता छन्  । तीमध्ये ७५ दललाई एकल निर्वाचनमा सहभागी हुन र १२ दललाई चार चिह्नबाट संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगले मान्यता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here