रौतहट ।। पिङ बिना दशैं खल्लो हुन्छ । पिङ अनि दशैं एक अर्काका पर्यायवाची जस्तै हुन् । तर विगत केही वर्षदेखि पिङ हाल्ने चलन हराउँदै गइरहेको छ ।
दशैंको सुरुवातसँगै गाउँघरमा पिङ हाल्ने चटारो सुरु भइसकेको हुन्थ्यो तर हिजोआज त्यो चटारोमा कमि भइरहेको छ । केही वर्ष अघिसम्म पनि गाउँघरमा ‘सररर… चचहुई’ भन्दै पिङमा मच्चिन बालबालिकादेखि युवायुवती तथा बुढापाकाहरुमा तछाड् मछाड् हुन्थ्यो तर आजकाल यस्तो दृष्य कमै देखिन्छ । युवापुस्ताको यसबारेमा अरुचि तथा डिजिटल दुनियाँमा रमाउने चक्करमा पिङ हाल्ने र खेल्नेतर्फ कमैको ध्यान जान थालेको छ । तर रौतहटको गौर नगरपालिकाले हराउँदै गएको पिङ सस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले दुईवटा लिङ्गे पिङ हालेको छ । नगरमा रहेको व्यारेक फिल्डमा नगर प्रमुख शम्भु साहको व्यक्तिगत पहल तथा लगानीमा पिङ हालिएको हो । दशैंमा पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले यसलाई संरक्षण र प्रवद्धन गर्न आफूले पिङ हालिदिएको नगर प्रमुख साहको भनाइ छ । पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले उनीहरुलाई पनि यसबारे ज्ञान दिँदै आफ्नो संस्कृति, परम्पराप्रति लगाव जगाउने उद्धेश्य पिङ हालिएको उनले बताए । ‘हाम्रो मौलिक परम्परा र संस्कृतिको जर्गेना हामी आफैले गर्नुपर्छ र नयाँ पुस्ताले त्यो सिक्दै जानुपर्छ’ उनले भने, ‘दशैंमा खेलिने पिङ हाम्रो धेरै पुरानो संस्कृति हो । यसलाई जोगाइराख्नुपर्छ , त्यसैमा मेरो जोड रहेको छ ।’ नगर प्रमुखको यस्तो कार्यलाई स्थानियले निकै सराहना गरेका छन् । मौलिक संस्कृतिको कम चासो र विदेशी संस्कृतिको मोहको कारण पनि पिङ संस्कृति हराउँदै गएको स्थानीय युवा संतोष पौडेल बताउँछन् । गौर नगरपालिकाले पिङ हालेर युवापुस्तालाई आफ्नो मौलिक संस्कृतिको ज्ञान दिन लागेको कार्य सराहनिय भएको भन्दै सबैले पिङ खेलेर मनोरञ्जन लिन पनि आग्रह गरे । गौरमा लामो समयदेखि पिङ बन्न छोडेर लोप हुने अवस्थामा पुगेको बेला नगरप्रमुख साहको पहलले गर्दा संस्कृतिको संरक्षण भएको सचारकर्मी विना श्रीवास्तव बताउँछिन् । उनले वर्षमा एक पटक खुट्टा माथि उठाएँ धर्ती माता माथिको बोझ एक दिन भएपनि कम हुने मान्यता रहेकाले सबैले पिङ खेल्नुपन बताइन् । नगरप्रमुख साहले जस्तै अन्य स्थानिय सरकारका प्रमुखले पनि यसतर्फ चासो दिए । लोपोन्मुख पिङ सस्कृति पुनः जागृत हुने र दशैंसँगै टोलटोलमा ‘सररर… चचहुई’ को आवाज गुन्जयमान हुने विश्वास स्थानियले लिएका छन् ।





