काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीलेसंविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको बताउनुभएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्नुभयो ।उहाँले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको पनि उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान पालनामा केही चुनौती देखिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उहाँले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको समेत उल्लेख गर्नुभयो । उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई उत्सवका रूपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उहाँले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दलका शीर्ष नेताहरूले पनि संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here