काठमाडौँ ।। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।भेटवार्तामा खासगरी तीन वटा विषयमा कुराकानी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
‘भेटमा हाम्रो अध्यक्षले नेपाल र चीनबीच भएका उच्चस्तरीय भ्रमण र त्यसक्रममा भएका महत्त्वपूर्ण सहमति सम्झौताहरू कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौ र चीनबाट पनि त्यस्तै अपेक्षा गर्दछौ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसमा दायाँबायाँ नगर्ने विश्वास दिलाउनुभयो’, रिजालले भने,‘अध्यक्षले चिनियाँ कांग्रेसको अक्टोबरमा सम्मेलनको सफलताको शुभकामना समेत दिनुभयो ।’
त्यसक्रममा चिनियाँ नेता लीले नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिको स्वागत गर्दै चीन नेपालबीच दुई पक्षीय सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए । त्यसक्रममा लीले चिनियाँ राष्ट्रपति सीले ओलीलाई व्यक्तिगत रुपमा पठाएको सम्झना स्मरण गराएका थिए ।भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत रहेका थिए।सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्सु सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।





