सांकेतिक तस्विर

काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकीय स्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले बुधवार राजधानीमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको उनले बताए । “हामीले हिमाल, तालतलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न सकेको छैनौँ,” अध्यक्ष नेपालले भने, “नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।”
उनले भारतको उत्तर प्रदेश र विहार प्रदेशमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राखे । उनले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्ने बताए ।“अहिलेसम्म नेपालमा भएका राजतन्त्रकालको सबै चिज सङ्ग्रहालयमा देख्न पाइयोस् । किरात, लिच्छवी, महिसपाल वंश, सेन वंश, शाहवंशले कसरी शासन सञ्चालन गरेका थिए । त्यो सबै कुरा सङ्ग्रहालयमा राख्नुपर्दछ । त्यो हेर्न विदेशी आउने छन्”, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताए । उनले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताए । उनले वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको पनि बताए ।
“सरकारसँग समन्वय नगरेर एकल ढङ्गबाट नेपाल वायुसेवा निगम चलाइयो भने समाप्त हुन्छ”, उनले भने, “सरकारको समन्वयमा वायुसेवा निगमले ध्वजाबहाक जहाज सञ्चालन गर्नुपर्दछ ।” अनलाइन टिकट गर्नका लागि आफूले निर्देशन दिए पनि नेपाल वायुसेवा निगमले नमानेको उनले बताए । उनले १२ महिना नै पर्यटक भित्र्याउन पहल गरिने योजना बनाइरहेको बताए । उनले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेको भन्दै अब चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने बताए । “अब एक वर्षको भ्रमणले पुग्दैन”, उनले भने, “नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनका लागि एक दशकको भ्रमण वर्ष चाहिन्छ ।” कार्यक्रममा डा. बिपी बडालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय पर्यटन शुल्क मिनाह गरी पर्यटकको बसाइँ तथा खर्च बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका डा. रामकुमार फुँयाल र नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रपुरुष ढकालले टिप्पणी गर्दै नेपालमा पर्यटनको सम्भावना रहेकोले प्रचारप्रसारको कमी र पर्यटन नीतिगत सुधार आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here