काठमाडाैं ।। आज हिन्दु महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना तथा अविवाहितले असल श्रीमान प्राप्तीको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा भगवान महादेवको पूजा आराधना गरिन्छ । आज व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरेर भगवान महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सत्ययुगमा भाद्र शुक्ल तृतीयाका दिन कठोर व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आज व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भिड लागेको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष पूर्वी ढोका पनि खोलेको छ । पशुपतिनाथको पूर्वी ढोका वि.सं. २०६५ पछि पहिलोपटक खुला गरिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । यसैबीच तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज देशभर महिलाहरूका लागि सार्वजनिक बिदा भए पनि लुुम्बिनी प्रदेशले भने सबैलाई बिदा दिएको हो । प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले चाडबाडमा पारिवारिक माहोलमा रमाउने वातावरण सिर्जना गर्न सार्वजनिक बिदा दिएको बताउनुभयो । पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतका उच्चपदस्थ व्यक्तिहरुले शुभकामना दिनुभएको छ ।
आज हरितालिका तीज पर्व मनाइँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।