काठमाडौं ।। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले प्रत्येक आइतवार ‘श्रम कल सेन्टर’ मा प्राप्त हुने गुनासो सुन्नुहुने भएको छ । मन्त्री कुँवरले आइतवार बिहान १० बजेदेखि १२ बजेसम्म प्रत्यक्ष रूपमा स्वदेश र विदेशमा रहेका श्रमिकहरूसँग कुरा गरेर उनीहरूको चासो, गुनासो, समस्या र सुझाव सुन्ने हुनुभएको हो । श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत हिजो बिहान ११ देखि १२ बजेसम्म कल सेन्टरमा ९ जनाले गुनासो राखेका थिए । मन्त्री कुँवरले पालैपोलो प्रश्नहरूको जवाफ तथा गुनासोको सम्बोधन गर्नुभएको थियो । लगत्तै मन्त्री कुँवरले श्रमिकका समस्या समाधानमा मातहतका निकायसँग कुरा गर्ने समेत बताउनुभयो । विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानुनअनुसार कारवाही गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न साढे ३ वर्ष अघि ‘श्रम कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो । जस अन्तर्गत हालसम्म १९ हजारभन्दा बढी गुनासा रेकर्ड भएका छन् । ति मध्य ९३ प्रतिशत गुनासो सम्बोधन गरिएको मन्त्रालयको दाबी छ । श्रमिकहरूले आफ्ना गुनासो राख्न निःशुल्क फोन नम्बर ११४१ वा १६६००१५००५ उपलब्ध गराइएको छ भने विदेशबाट ००९७७१५९७००८ मा सशुल्क फोन गर्न सकिनेछ । त्यस्तै भाइबर नम्बर ००९७७९८०१८०००१३ मा पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।





