काठमाडाैं ।। भारतले आज आफ्नो ७६ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । ब्रिटिश शासनबाट मुक्त भएको अवसरमा भारतले हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारतका राष्ट्रपति द्रौपदी मुर्मले स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै देश विकासमा प्रत्येक नागरिकको भूमिका महत्त्वपूर्ण रहेको हुँदा मुलुकलाई समृद्ध बनाउनका लागि सबैले आ आफ्नो स्थानबाट योगदान गरेकोमा धन्यवाद दिनुभयो । यसैबीच, दिवसको अवसरमा आज भारतको राजधानी नयाँ दिल्लीमा विशेष समारोहको आयोजना गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा भारतीय झन्डा फहराएर देशका वीरहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । देशवासीको नाममा सम्बोधन गर्दै उहाँले भारतलाई स्वतन्त्र भारत बनाउनका लागि महात्मा गान्धी, डा.राजेन्द्र प्रसाद, जवाहर लाल नेहरु, रानी लक्ष्मी बाई लगायतले खेलेको भूमिकाको सँधै सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भारतले गरेको हरेक सङ्कल्प पूरा गर्नका लागि भारतीय नागरिकको ठूलो योगदान रहेको पनि उल्लेख गर्नुभयो । स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।





