पाेखरा ।। कास्कीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा राति १ बजे पहिरोले घर पुरिँदा वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालले बताउनुभयो । लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्दै आउनुभएका माछापुछ«े गाउँपालिकाका सुनारको मृत्यु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषका दिदी २७ वर्षका सुनिता सुनार घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





