काठमाडाैं ।। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले अहिले दैनिक १० देखि १२ करोड रूपैयाँ बराबरको बिजुली भारतमा बेचिरहेको बताउनुभएको छ । सरकारको तर्फबाट सङ्घीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको उहाँको भनाइ छ । सुख्खायाममा भने भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था अझै रहेको उहाँले स्पष्ट पार्नुभयो । गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औसत मूल्य ९ रुपैयाँ ७ पैसा प्रति युनिट रहेको छ भने यो वर्षातमा अहिले सम्मको निर्यातको औसत दर ११ रूपैयाँ ३८ पैसा प्रति युनिट रहेको छ । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने तर वर्षायाममा भने उत्पादनको करिव ५० प्रतिशत विद्युत् बढी हुने उहाँको भनाइ छ । विद्युतको आन्तरिक खपत बढाएरै देश समृद्ध हुने कुरामा दुई मत नरहेको भन्दै उहाँले सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको दाबी पनि गर्नुभयो । यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको उहाँको भनाइ रहेको छ । आगामी दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने उहाँको भनाइ रहेको थियो ।





