काठमाडाैं ।। सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने सङ्घीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्नुहुनेछ । नेपालको संविधानले नै जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आगामी बजेट कृषि क्षेत्रको विकास, औद्योगिक विकास र निजी क्षेत्रको लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रको विकास, स्वास्थ्य क्षेत्र र शिक्षाको विकास, पर्यटन क्षेत्रको पुनरुत्थानमा केन्द्रित हुने जनाएको छ । त्यसका लागि सरकारले करिव १७ खर्ब ४५ अर्बको बजेट ल्याउन लागेको छ । सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि चालू तर्फ १० खर्ब ५० अर्ब रुपैयाँ, विकास निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनका लागि सवा २ खर्ब बजेट विनियोजनको प्रस्ताव गरिएको छ । यस्तै वैदेशिक ऋण तथा अनुदानबाट २ खर्ब ६० अर्ब रुपैयाँ जुटाउने योजना छ । प्रतिनिधि सभा बैठकबाट हिजो र राष्ट्रिय सभा बैठकबाट अस्ति आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो । गत बैशाख ३० गते स्थानीय तहको चुनाव भएकाले सरकारले नियम निलम्बन गरेर आज बजेट सार्वजनिक गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल भएको थियो ।
आर्थिक वर्ष २०७९÷८० को बजेट आज सार्वजनिक हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।