काठमाडाैं ।। स्थानीय तहको निर्वाचन आउन अब ४ दिन मात्र बाँकी छ । भोलि रातिदेखि मौन अवधि सुरु हुने भएपछि राजनीतिक दलका नेताहरू चुनावी प्रचारमा व्यस्त छन् । एकैदिन ३ देखि ४ ओटा चुनावी सभामा दलका नेताहरूले सहभागिता जनाइरहेका छन् । मौन अवधि सुरु भएपछि चुनावसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइँदैन । घरदैलो कार्यक्रम, सामाजीक सञ्जालमा चुनावी प्रचारप्रसार सम्बन्धी गतिविधि बन्द हुने भएकाले उम्मेदवार र दलका नेताहरू चुनावी सभामा व्यस्त भएका हुन् । दलहरूले प्रयोग गर्ने सम्वोधनको भाषा भने अराजनीतिक हुने गरेको भन्दै निर्वाचन आयोग, विज्ञहरू लगायतले चिन्ता व्यक्त गर्दै आएका छन् । निर्वाचन आचारसंहिता विपरितका अभिव्यक्ति नदिन आयोगले पटकपटक दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । विश्लेषक जैनेन्द्र जीवनले भर्खरै पार्टी फुटेर नयाँ पार्टी बनेका र दलहरूले आफूले गरेका असल कामको विवरण नभएका कारण पनि नेताहरू आरोपप्रत्यारोपमा उत्रिएको बताउनुभयो ।





