काठमाडाैं ।। निर्वाचन आयोगले आजदेखि जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । आज मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचनका लागि अवश्यक पर्ने सामग्री पठाइएको छ । अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्री पठाइने आयोगले जनाएको छ । यस्तै आज देशभरका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ ओटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६ सय ७६ निर्वाचन अधिकृतहरूले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका छन् । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउनका लागि स्वतन्त्र ढङ्गले पर्यवेक्षण गराउन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ बमोजिमको मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षण अनुमति दिने निर्णय गरेको छ । उक्त संस्थाहरूबाट तोकिएको योग्यता पुगेका १० हजारभन्दा बढी पर्यवेक्षकहरूले मुलुकभरका तोकिएको मतदानस्थलमा पुगी पर्यवेक्षण गर्नेछन् । पर्यवेक्षकहरूलाई आयोगले पर्यवेक्षण गर्ने मतदान स्थलसमेत खुलाई छुट्टा÷छुट्टै परिचयपत्र उपलब्ध गराउने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस्तै आयोगका अनुसार आज सम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ ।
निर्वाचन आयोगले आजदेखि जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।