काठमाडाैं ।। मौसम पूर्वानुमान महाशाखाले आजदेखि तराईका केही स्थानमा लु अर्थात तातो हावा चल्ने जनाएको छ । लुम्बिनी प्रदेशसहित पश्चिम तराइका जिल्लामा आजबाट ३ दिन तापक्रम बढेर ४० डिग्री भन्दामाथि पुग्ने पूर्वानुमानसँगै अत्यधिक गर्मीका कारण तातो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । भारतको मौसम विभाग र बैँककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) ले पनि लु लाग्ने अनुमान गरेका छन् । मौसमविद् राजु प्रधानाङ्गले पर्सिबाट भने मौसममा सुधार हुने बताउनुभयो । तापक्रम बढ्दा बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने विज्ञहरू बताउँछन् । वरिष्ठ फिजिसियन डाक्टर सूर्य पराजुलीले गर्मीको मौसममा शरीरबाट पसिनाको माध्यमबाट पानी बग्ने हुँदा पानीको मात्रालाई पूर्तिका लागि बेलाबेलामा पानी सेवन गरिरहन सुझाव दिनुभयो । उहाँले जथाभावी खानपान गर्नुभन्दा घरमै पाकेको हरियो सागपात र पानीको मात्रा प्रशस्त भएको तरकारी र फलफूलको सेवन गर्न पनि सुझाव दिनुभयो । उहाँले बाहिर निस्कदा छाताको प्रयोग गर्न, सकेसम्म खुकुलो सुतिको पुरै बाहुला भएका लुगाहरूको प्रयोग गर्न पनि आग्रह गर्नुभयो । लुले पशुपन्छीहरूको स्वास्थ्यमा समेत असर गर्ने भएकाले साविक भन्दा बढी दानापानी दिन डा पराजुलीको सुझाव छ ।
आजदेखि तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना, सतर्क रहन चिकित्सकको सुझाव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।