काठमाडौँ ।। २००८ सालमा बनेको नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिषचन्द्र’ देखि नेपालमै बनेको पहिलो चलचित्र ‘आमा’ सम्मको गुणस्तर तुलनात्मक रूपमा कम थियो । तर त्यसको झन्डै २८ वर्षपछि भने नेपाली चलचित्र गुणस्तरीय र रचानात्मक हुँदै गयो । सशस्त्र द्वन्द, विनाशकारी भूकम्प र कोरोना महामारीका कारण निर्माणदेखि प्रदर्शनमा नेपाली चलचित्र प्रभावित हुँदै आएको छ । ठूलो लगानीमा बन्ने भारतीय चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरेका कारण नेपाली चलचित्रलाई लगानी उठाउन हम्मे पर्ने गरेको छ । १९९० सालको राजनीतिक परिवर्तनपछि नेपाली चलचित्र निर्माणको गति बढेपछि त्यसको तीन वर्षमा एक सय ४० चलचित्र बने । विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनसँगै नेपाली चलचित्रको गुणस्तर पनि बढ्दै गएको काठमाडौँको बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका सञ्चालक त्रिरत्न मानन्धरको भनाइ छ । नेपाली चलचित्रको बजरमा हिन्दी फिल्मको प्रभाव १०९० को दशकमा कम भएको थियो । अहिले भने करोडौँ खर्चेर चलचित्रको गुणस्तर बढ्दै गर्दा भारतीय चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरेको छ । गत पुसमा चार सय करोडमा बनेको हलिउड चलचित्र स्पाईडर म्यान ‘नो वे होम’ र त्यसपछि दक्षिण भरतीय चलचित्र पुष्पा नेपाली हलमा लागे । यही समयमा प्रदर्शन भएका नेपाली चलचित्र ‘चपली हाईट ३’ र ‘कठपुतली’ ले सोचेजस्तो व्यापार गर्न सकेनन् । दक्षिण भारतमै बनेको ‘आरआरआर’ नेपाली हलबाट उत्रिँदा ‘हेलो जिन्दगी’ नामक नेपाली चलचित्रको बजार प्रभावित भयो । अहिले हिन्दी चलचित्र ‘केजिएफ च्याप्टर २’ नेपाली हलमा लाग्दा ‘ए मेरो हजुर ४’ ले सोचेअनुसार दर्शक पाउन सकेको छैन । चलचित्र प्रदर्शन गरिरहेका हल सञ्चालकका अनुसार हिन्दी चलचित्रले ४ करोडको व्यापार गर्दा नेपाली चलचित्रले करिब १ करोड उठाउँछन् । बाह्य चलचित्रको लगानी र गुणस्तर राम्रो भए पनि दर्शकहरूको साथ भने नेपाली चलचित्रमा घटेको छैन । नेपाली चलचित्र निर्माणको झण्डै ७० वर्षमा दर्शकको अपेक्षाअनुसारको विषवस्तु आउन नसकेको गुनासो पनि कतिपयबाट सुनिन्छ । तर, लेखक तथा कलाकार खगेन्द्र लामिछाने राज्यले सहयोग गरे दशर्क र चलचित्र क्षेत्रले निरास मान्नु नपर्ने टिप्पणी गर्नुहुनछ । बितेको ५ वर्षयताको अवस्था हेर्दा पशुपतीप्रसाद, छक्का पञ्जा, कबड्डी, बुलबुल, प्रसाद, शत्रु गते, जात्रै जात्रा, म यस्तो गित गाउँछु २ जस्ता चलचित्रले राम्रो व्यापार गरेका छन् । चलचित्र सिमित मनोरञ्जन मात्र होईन । यसले मुलुकको कला संस्कृती र ईतिहासलाई समेत विश्वमाझ पु¥याउन भूमिका खेल्छ । सानो बजार र थोरै लगानीका बाबजुद नेपाली चलचित्र निर्माण सङ्ख्यात्मक रुपमा बढेको छ । तर भारतीय चलचित्रसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण भएका बेला सरकारीस्तरबाट कुनै नियमन र व्यवस्थापन नभएको गुनासो कलाकार र निर्माताहरूको छ ।





