काठमाडाैं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा तालमेल हुन्छ भनेर भर पर्न नहुने बताएका छन्।
प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले महानगर र उपमहानगरहरूमा माथिबाटै तालमेलको निर्णय हुने बताए।
कतिपय ठाउँमा सत्तारूढ दलसँगै गठबन्धन हुन्छ होला। कतिपय अन्य दलहरूसँग पनि हुनसक्छ। हामीले एक्लै लड्ने ठाउँ पनि हुन्छन्,’प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने,’माधवजीको पार्टीसँग पनि तालमेल हुन्छ होला। तर उहाँको पार्टीले आफ्नो औकात बिर्सिएर धेरै मागिरहेको छ। त्यसैले अलि कठिन छ।’
चुनावमा तालमेल गर्ने विषय एउटा राजनीतिक सन्देश समेत भएको उनले बताएका थिए।
अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने\नबनाउनेबारे छलफल गर्न जरूरी रहेको समेत प्रचण्डले बताएका थिए।
‘हामीले जति प्रवेश गराउनु थियो गराइसकेका छौं। अब प्रवेश गराउनेबारे सोच्नुपर्छ। किनकि पार्टीमा आउनसाथ भाग खोज्न सक्छन्,’प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने,’नवप्रवेशीलाई ठाउँ दिँदा आफ्नै साथीहरू असन्तुष्ट हुनेतर्फ पनि ध्यान दिनुपर्छ।’





