एजेन्सी ।। युक्रेन–रुस बीच जारी युद्धकाबीच अमेरिकी राष्ट्रपति जो बाइडन पोल्याण्ड भ्रमणमा पुग्नुभएको छ । पोल्याण्डको राजधानी वार्सामा रहनुभएका अमेरकी राष्ट्रपति वाइडनलाई युक्रेन युद्धको विषयमा जानकारी गराइने छ । रुसले युक्रेनको खारकिभ र राजधानी किभमाथि कब्जाका लागि झन्डै १५ दिनदेखि आक्रमण गरिरहेको छ । तर, हालसम्म कुनै सफलता भने प्राप्त हुन सकेको छैन । यसैबीच, युक्रेनका गृहमन्त्रीका सल्लाहकारले रुसका रक्षा मन्त्री सर्गेई लाभरोभलाई हृदयघात भएको दाबी गरेका छन् । युक्रेनका गृहमन्त्रीका सल्लाहकारले सामाजीक सञ्जाल फेसबुकमा रुसी रक्षामन्त्री सर्गेईलाई हृदयघात भएको र उहाँ अस्पतालमा भर्ना हुनु भएको उल्लेख गरेका छन् । यसअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किले पनि रुसी रक्षामन्त्री सर्गेई गायब भएको भन्दै प्रतिक्रिया दिनुभएको थियो ।
यसैबीच, जारी युद्धको क्रममा १ हजार ८ सयभन्दा बढी युक्रेनी नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार युद्धको क्रममा हालसम्म मृत्यु भएकामध्ये १ सय ३५ जना बालबालिका रहेका छन् ।





