काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ । उहाँले वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्ने पनि बताउनुभयो । अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिको सन्देशमा भनिएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभएको छ । होली पर्वको रूपमा मनाइने फागु पूर्णिमाको अवसरमा शुभकामना दिँदै उहाँले स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ । उपराष्ट्रपति पुनले होली पर्व २०७८ ले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउनसमेत आग्रह गर्नुभएको छ । साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
होली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।