काठमाडौँ ।। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरू यसअघिको घोषणापत्रको समीक्षा गर्दै नयाँ घोषणापत्र तयार गर्न छलफलमा जुटेका छन् । सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै दलहरू तयारीमा जुटेको हो । राजनीतिक दलका यसअघिका ५ बर्षे घोषणा र प्रतिवद्धता अनुसारका केही काम पूरा भए पनि केही अधूरै छन् । पूरा भएका कामलाई आगामी चुनावको भोटको एजेण्डा बनाउँदै र पूरा गर्न नसक्नुका कारण खुलाएर फेरि एक पटक नागरिकको मन जित्ने कसरतमा दलहरू जुटेका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्राईले आगामी ५ वर्षका लागि नेकपा एमालेले देशका लागि गर्ने कामबारे घोषणा पत्रमा उल्लेख गर्ने तयारी भएको बताउनुभयो । नेपाली काँग्रेसका सह–महामन्त्री जिवन परियारले घोषणा पत्र तयारी समिति बनाउने र समितिले बनाएको मस्यौदालाई केन्द्रीय समितिले पारित गरि कार्यान्वयनमा लैजाने बताउनुभयो । दलहरूले आ आफ्नो पार्टीको सिद्धान्त र मान्यताका आधारमा राजनीतिक, आर्थिक, सामाजिक विषयको बुझाइ र प्राथमिकता घोष्णापत्रमा उल्लेख गर्ने गरेका छन् । अब छुट्टै समिति नै बनाएर घोषणापत्र लेख्ने तयारी भएको माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरुङको भनाइ छ । राष्ट्रिय र क्षेत्रिय राजनीतिमा यसपटक केही नयाँ दलहरू पनि थपिएका छन् । नेकपा एकीकृत समाजवादीले सके सम्म आफ्नो पक्षमा जनमत आउने गरि आकर्षक र नागरिक केन्द्रीत घोषणापत्र बनाउने गरि विज्ञ र नागरिकका मत सङ्कलन गरिरहेको पार्टीका प्रमुख सचेतक जिवनराम श्रेष्ठले बताउनुभयो । जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरू पनि कार्यकर्ता भेटघाटका लागि आ–आफ्नो निर्वाचन क्षेत्रतिर केन्द्रीत बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले यसअघिको घोषणा पत्रमा उल्लेख गरिएका विषयलाई समीक्षा गर्ने काम भइरहेको बताउनुभयो । निर्वाचन आयोगका अनुसार हाल देशमा १०९ वटा राजनीतिक दल रहेका छन् ।
Home मुख्य समाचार निर्वाचन नजिकिदै गर्दा दलहरू यसअघिको घोषणापत्रको समीक्षा गर्दै नयाँ घोषणापत्र तयारी





