काठमाडाैं ।। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ । ओमानको अल अमेरातमा नेपालले युएईको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः ४५ बजे सुरु हुनेछ । टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेलबाट नेपालको विश्वकप यात्राको टुङ्गो लाग्ने छ । नेपाल आज युएईलाई हराएर फाइनल पुग्न चाहन्छ भने युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनेछन् । नेपालले सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आइरहेको छ । छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अङ्क जोडेको थियो । युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाल र युएईबीचको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ । नेपाल र युएईबीचको पछिल्लो चार टी–ट्वान्टी खेलमा दुबैले २ जित र २ हार व्यहोरेका छन् ।





