काठमाडाैं ।। देशभर गत २४ घन्टामा ५ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ९ हजार ७ सय ८९ कोरोना परीषण गरिएको छ । जसमा ७ हजार २८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ६४ र २ हजार ७ सय ६१ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७४ हजार ८ सय ५७ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार २ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै पछिल्लो समय नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुनेदर बढ्दै गएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय ९३ जना स्वस्थ भएका छन् भने थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ९ लाख ४६ हजार ३ सय ३० जना स्वस्थ भएका छन् भने ११ हजार ९ सय ११ जनाको मृत्यु भएको छ । यस्तै देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय १६ रहेको छ ।





