पर्वत ।। पर्वतको मोदी गाउँपालिका २ देउपुरमा अज्ञात रोगले सुन्तला खेति सङ्कटमा परेको छ । अन्य खेती छोडेर व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान रोग किराको प्रकोपका कारण चिन्तामा परेका छन् । एक रोपनी जग्गामा सुन्तला रोप्नुभएका मोदी गाउँपालिका २ देउपुरका सत्यदेबी गिरीले सुन्तला खेती छोड्नुपर्ने स्थितीमा पुगेको सुनाउनुभयो । बोट पहेँलो हुने, दाना झर्ने र किराको सङ्क्रमण देखिने समस्या भएपछि देउपुरका किसान व्यावसायिक सुन्तला खेतीबाट नोक्सानी भएको बताउँछन् । विगत दुई वर्ष यता देउपुरका सुन्तलामा रोगको प्रकोप देखिन थालेको हो । दुई वर्ष अगाडी सम्म २ करोडको सुन्तला बेच्ने किसान अहिले ५० लाखको पनि सुन्तला बिक्री गर्न नसक्ने अवस्थामा पुगेका छन् । यहाँका एक सय ६० घर परिवारले अन्य खेतीपातीसँगै सुन्तला खेती गरेर आम्दानी गर्दै आएका थिए । हरेक घरले वर्षमा ५ देखि १० लाख रुपैयाँ सुन्तला बेचेरै कमाउने गर्थे । सुन्तला खेतीमा विषादीको प्रयोग हुनु र नार्कले अनुसन्धान नगरेको मुल विरुवा किसानले आफुखुशी ल्याएर रोप्दा, रोग देखिएको हुनसक्ने अनुमान गरिएको छ । सुन्तलामा देखिएको रोगको नियन्त्रण गर्न विभिन्न प्रकारका औषधि उपचार पनि भईरहेको छ । तर रोग नियन्त्रण हुन सकेको छैन । गाउँभरिकै सुन्तला रोगका कारण मर्न थालेपछि किसान मुख्य आम्दानीको स्रोतबाट बञ्चित हुने चिन्तामा छन् ।
अज्ञात रोगले सुन्तला खेति सङ्कटमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।