जनकपुर ।। प्रदेश २ सरकारले किसान लक्षित कार्यविधि बनाएर अनुदान उपलब्ध गराउने तयारी गरेको छ । कृषि पेशामा आवद्ध सीमान्तकृत किसान, कृषि मजदुर लगायतलाई प्रतिव्यक्ति १० हजारका दरले अनुदान उपलब्ध गराउने सरकारको तयारी छ । तर यसबारेमा किसान भने बेखबर छन् । महोत्तरीका रामहरी महतोले १० विगाहा क्षेत्रफलमा खेती गर्दै आउनुभएको ९ वर्ष भयो । आफूसँग जग्गा नभएपछि उहाँले अरुसँग भाडामा लिएर खेती गर्दै आउनुभएको छ । साना किसानलाई प्रदेश सरकारले सहयोग उपलब्ध गराउने योजनाबारे उहाँलाई थाहा छैन । किसान लक्षित अनुदान र सहयोग उहाँ जस्तो धेरै किसानले पाएका छैनन । बाराका शङ्कर अर्याल र नाफी साहलाई पनि प्रदेश सरकारले प्रतिकिसान १० हजार रुपैयाँ उपलब्ध गराउने बारेमा जानकारी छैन । प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान आयोजनामार्फत् सीमान्तकृत, न्यून आय भएका किसान र कृषि मजदुरलाई एक मुष्ठ १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । जसका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेर कार्यविधि मन्त्रीपरिषदमा पेश गरिसकेको प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता ललन कुमार सिंहले बताउनुभयो । सरकारले दलित, जनजाती, सहिद परिवार लगायतका व्यक्तिलाई आयोजनामा समावेश गर्ने छ भने प्रदेशको ८ जिल्लाका उत्तर, मध्य र दक्षिण तर्फका ३÷३ गाउँपालिका वा नगरपालिका छनोट गरी २४ स्थानीय तहमा यो कार्यक्रम सुरु हुनेछ । यो कार्यक्रमले थोरै भएपनि किसानलाई राहत हुने कृषि क्षेत्रका जानकार राम दुलार यादवको भनाइ छ । प्रदेश २ सरकारले अनुदानबापत उपलब्ध गराउने रकम किसानको बैङ्क खातामा सोझै जम्मा हुनेछ । अनुदानमा उपलब्ध गराइएको रकमको दुरुपयोग नहोस् भनेर त्यसको अनुगमन र नियमन पनि गर्ने हुँदा सहज हुने अपेक्षा गरिएको छ ।
किसानलाई अनुदान उपलब्ध गराउने प्रदेश २ सरकारको तयारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।