काठमाडाैं ।। आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले विशेषगरी पहाडी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पर्सि शनिबारदेखि कमजोर हुनेछ । तर फेरि अर्को प्रणाली नेपाल आउँने देखिएकाले अबको केहीदिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना निकै कम छ । यी प्रणालीको प्रभावले आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् श्रेष्ठले सीआइएनसँग बताउनुभयो । उहाँका अनुसार भोलि पनि दिउँसो र राति देशका पहाडी भेगमा वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुनेछ । यस्तै पर्सि शनिबार प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आइतबार पानी र हिउँ पार्ने अर्को प्रणाली नेपाल आउँन लागेकाले मौसम पूर्ण रुपमा खुल्न भने केही दिन लाग्नेछ । यसैबीच वर्षा र हिमपात हुने भएकाले अबको केही दिन हिमाल नचढ्न मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार वर्षा र हिमपात भएपछि चिसो अझै बढ्ने भन्दै केही दिन हिमाल नचढ्न सुझाव दिनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here