सुनसरी ।। प्रहरी हिरासतमै थुनुवाको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवा तनावग्रस्त बनेको छ ।पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गर्न थालेपछि दोहोरो झडपसमेत भएको छ ।
ढुंगामुढापश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रु ग्याससमेत प्रहार गरेको थियो । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन् । आन्दोलनकारीले चोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपमा थुनुवाको हत्या गरेको आरोप लगाएका छन् । मृतकको शव बुझ्न पीडित पक्षले अस्वीकार गरिरहेका छन् ।
यता प्रहरीले भने हत्या नभई आत्महत्या भएको जिकिर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट रूपमा आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए ।
उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने पनि बताए । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साह अनुसन्धानका क्रममा थुनामा थिए ।
पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् ।
उनीहरूले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको आरोप लगाएका छन् ।
हिरासतमा थुनुवाको मृत्युपछि इनरुवा तनावग्रस्त
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।