काठमाडौँ ।। प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूले बढेको तलब नपाएको गुनासो गरेका छन् । अघिल्लो सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लागि ल्याएको बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको तलब ९ हजार बढाएको थियो । आफूहरूको तलव बढेकोमा खुशी भएका शिक्षकहरू चालु आर्थिक वर्षमा तलब नपाइएला कि भन्ने चिन्तामा छन् । सरकारले बालविकास केन्द्रका शिक्षकको तलब न्यूनतम १५ हजार दिने उल्लेख गरे पनि रकम हात नपरेको काभ्रे रोशीका बालविकास शिक्षक बीना तामाङले बताउनुभयो । देशभर रहेका झन्डै ३६ हजार बालविकास केन्द्रका शिक्षकहरू बढेको तलब पाउने आशामा छन् । १५ वर्ष अघि ५ सय रुपैयाँ मासिक तलबबाट काम सुरु गर्नुभएका जनकपुरका अर्चना कर्णले सङ्घ सरकारले बजेटमा घोषणा गरेको रकम नपठाएको बताउनुभयो । नगरपालिका सङ्घका महासचिव भीम प्रसाद ढुङ्गानाले स्थानीय तहले थप रकम प्रदान गरेपनि सङ्घ सरकारले बजेट नपठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सङ्घ सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार गरी शिक्षकहरूको तलब १५ हजार पु¥याउने व्यवस्था सरकारले गरेको छ । जसको कार्यान्वयनमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । तर, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य भने बजेट भर्खरै पारित भएकाले अहिले नै यो विषयमा यसै हो भन्न नसकिने बताउनुहुन्छ । हाल बालविकास केन्द्रका शिक्षकहरूले मासिक ६ हजारका दरले तलब पाउँदै आएका छन् । तर, त्यो तलब पर्याप्त नभएको र श्रम ऐनविपरित भएको भन्दै विरोध भएपछि सरकारले चालु आर्थिक वर्षमा तलब बढाए पनि स्थानीय तह भने माध्यमिक तहसम्मको शिक्षा आफूहरूको क्षेत्राधिकार भन्दै सङ्घ सरकारको निर्णय नमान्ने बताउँदै आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here