काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ । मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गर्नुभयो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै संविधानको कार्यान्वयनमा सहजता आउने बताउनुभएका छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संविधान राज्यको मुल कानून भएकाले यसको मर्म र भावना बमोजिम राज्य व्यवस्था सञ्चालन गर्न आग्रह गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानमा लिपिबद्ध गरिएका जनताका आधारभूत हक अधिकारहरुको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आवद्ध गरी लोकतन्त्रका लाभहरुको समतामूलक र समन्यायीक वितरण गर्नेतर्फ हाम्रो ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत विभिन्न दलका प्रमुखहरूले पनि संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच, संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गर्नुभएको छ । कैद माफी र कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष गएको भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here