काठमाडाैं ।। उत्तरी सीमा क्षेत्र हुम्ला खण्डमा पर्ने सीमास्तम्भको बारेमा अध्ययन गर्न सरकारले गठन गरेको विज्ञसहितको लाप्चा, लिमी लगायत क्षेत्रको अवलोकनका लागि प्रस्थान गरेको छ । आज बिहान त्यसतर्फ गएको टोलीले सीमास्तम्भ अवलोकन र स्थानीयबासीसँग छलफल गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । समितिले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भमा पुग्ने तयारी गरेको छ । चीनसँगको भएको भनिएको सीमा समस्याका बारेमा अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा सरकारले अध्ययन टोली नाएको थियो । अध्ययन टोली नेपालगञ्जहुँदै हिजो सीमकोट पुगेर हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, प्रशासक र नागरिक समाजसँग छुट्टाछुट्टै छलफल गरेको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरेको भन्दै हुम्लामा विरोध हुँदै आएको छ । यद्यपी चीनसँग सीमा विवाद नभएको भन्दै कतिपय राजनीतिक दल र सरोकारवाला निकायले पनि सरकारको आलोचना गर्दै आएका छन् ।





