काठमाडाैं ।। कोरोना महामारीका कारण बन्द गरिएको पशुपतिनाथ मन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको सङ्क्रमण बढेपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर भोलिदेखि भक्तजनका लागि खुला गरिने भएको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले आज क्षमापूजा गरेर भोलि बिहान साढे ५ बजेदेखि मन्दिर खुला गर्न लागिएको जानकारी दिनुभयो । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको जोखिम कम भए पनि पूर्णरूपमा जोखिम कम नभएकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा भने हाल खुला नगरिने कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।