काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शनिबार बसेको बोर्ड बैठकले ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित गरेको हो। कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब भइरहेको थियो।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित गरिएको जानकारी गराए। उनले भने, “अब परीक्षा गर्नुअघि १५ दिनको समय दिएर सूचना जारी गरिने छ।”
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २२ साउनमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई परीक्षा स्थगित गर्न सिफारिस गरेका थिए। त्यसपछि सीसीएमसीले परीक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको थियो। परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यार्थीहरुमा अब कहिले परीक्षा होला भन्ने अन्योल सुरु भएको छ।





