काठमाडौँ ।। निषेधाज्ञा खुकुलो बनाएपछि सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पनि कोरोना सम्बन्धी नियमित जानकारी दिँदा कोरोना सङ्क्रमण दर फेरि बढेको र सावधानी अपनाउनका लागि पटकपटक अनुरोधसमेत गदै आउनुभएको छ । डोल्पामा कोरोना सङ्क्रमण दर १० दिन अघिको तुलनामा बढेको छ । अहिले कोरोना परिक्षण भएका मध्ये ५० प्रतिशतमा पोजिटिभ पाइएको डोल्पा स्वास्थ्य कार्यालयका प्रमुख अमरसिंह शाहीले बताउनुभयो । चितवनमा पनि अहिले कोरोनाको सक्रिय सङ्क्रमितको संख्या १३ सयभन्दा बढी छ । अस्पतालमा गम्भीर बिरामी भर्ना हुने दर कम भए पनि नयाँ सङ्क्रमित थपिने दर बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. दीपक तिवारीले बताउनुभयो । गण्डकी प्रदेशमा पनि सङ्क्रमणको दर एक साता अघिको तुलनामा बढेको तथ्याङ्कले देखाउने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम खड्काले जानकारी दिनुभयो ।सरकारले पनि मानिसहरुको भीडभाड बढेको हुँदा सङ्क्रमण दर बढेको उल्लेख गर्दै सावधानी अपनाउन भन्दै आएको छ । यसरी नै सङ्क्रमणको दर बढ्दै जानुलाई कोरोनाको तेस्रो लहरको रुपमा बुझ्न सकिने सरुवारोग विशेषज्ञ डा.बाबुराम मरासिनीले बताउनुभयो ।सरकारले कोरोनाको जोखिम कायमै रहेको बेला जनजीवन सामान्य बनाउन निषेधाज्ञालाई खुकुलो बनायो । तर निषेधाज्ञा खुकुलो हुँदैमा कोरोना सकियो भन्ने गलत बुझाइ नागरिकमा हुदा स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएको सरकारको बुझाइ छ ।





