काठमाडाैं ।। आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । स्पष्टीकरण सोधिएका नेताहरुलाई थप कारबाही लगायतका विषयमा छलफल गर्न बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भए पनि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङल बताउनुभयो । हिजोका लागि बोलाइएको बैठक पनि आजका लागि तय भएको थियो । यही जेठ १० गतेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । तर उनीहरूले स्पष्टीकरण बुझाएका छैनन् ।





