कर्णाली ।। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आइतवार आयोजित ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यअघि नै दिगो विकास पूरा हुने प्रचुर सम्भावना रहेको बताएका हुन् ।
नेपाल अहिले विकासशील देशमा सिफारिश भइसकेको छ । नेपालको विकासको गतिलाई तीव्र बनाइएको बताउँदै उनले भने, “यो शुभारम्भ कार्यक्रम राष्ट्रिय अभियान हो, ऐतिहासिक क्षण र गौरवको अभियान हो । परिपक्व ढङ्गले तीव्रताका साथ अघि बढाएर अभियान सफल बनाउन सङ्घ, प्रदेश तथा स्थानीय तहलाई हार्दिक आग्रह गर्दछु ।”
प्रधानमन्त्री ओलीले जनताको जीवन सुरक्षित, खुशी र सुखी हुने चाहनालाई केन्द्र भागमा राखेर दुःखकष्ट समाप्त पार्ने र सुखानुभूतिको सिर्जना गर्ने उद्देश्यले सरकारले प्रादेशिक तथा स्थानीय सडक निर्माण र सुधार कार्यक्रम शुभारम्भ गरेको बताए । तीन सय ९२ ठाउँबाट आवेदन प्राप्त भएको जनाउँदै उनले पक्की ठाउँबाट आएका मागको स्तरवृद्धि हुने तथा विशेषगरी नयाँ सडक निर्माण गरी बाटामा सङ्केत चिह्न राख्ने र चालक एवं ट्राफिक तालीम दिइने बताए ।
प्रधानमन्त्री ओलीका अनुसार अब बन्ने सडक फराकिला सुरक्षित हुने छन् । प्राविधिक कारण सडक निर्माणमा हुने त्रुटिले दुर्घटना हुने भएकाले अब त्यस्तो नहुने गरी योजना अघि बढाइएको उनले जानकारी दिए । उनले हवाई यातायात, सडक, केबुलकार, मैदान सुधार विस्तारलाई अघि बढाएर हरेक पालिकामा हेलिप्याड र पोखरी बनाउने कार्यमा जोड दिइएको जनाउँदै कृषिको आधुनिकीकरण, स्वास्थ्य र पर्यटनका लागि पनि सरकार अघि बढिरहेको बताए ।
नेपाललाई खुला दिसामुक्त देश बनाइसकिएको बताउँदै प्रधानमन्त्री ओलीले भौतिक विकासका माध्यमबाट सामाजिक विकासलाई नयाँ उचाइमा उठाउन सकिने विश्वास व्यक्त गरे । दक्षिण एशियामा नेपाल पहिलो डिजिटल देशमा परिणत भएकाले नेपाल आधुनिक प्रविधिमा अघि बढेको उनले बताए
उनले भने, “स्वास्थ्य अवस्था कमजोर भए पनि हाल पाँच लाखभन्दा बढीले कोरोनाले भ्याक्सिन लिएका छन् । मन्त्रालय काममा जुटेको छ, कर्मचारीले काममा तीव्रताका साथ ध्यान दिएका छन् । अब २१० तहमा थप तीव्रता आउने छ । ”
सो अवसरमा सङ्घीय मामिलामन्त्री गणेश ठगुन्नाले ३९२ स्थानीय तहबाट सडक निर्माणको माग भएको र छानबिन प्रक्रियालाई अघि बढाइएको बताएका छन् । राष्ट्रिय सडक सञ्जालसँग जोड्न चार हजार किलोमिटर पक्की सडक निर्माण हुने मन्त्री ठगुन्नाले जानकारी दिए ।





