काठमाडाैं ।। सांसदहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । नेपालमा ९ सय ६२ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ । हालसम्म देशभर २१ लाख ६२ हजार ९ सय ३६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन ।





