काठमाडौं ।। आज बुटवलमा आयोजित आसमभामा बोल्दै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् ।
३ दिन अघि काठमाडौंमा भएको प्रचण्ड–माधव नेपाल पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनी दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फर्काएका हुन् ।
उनले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी पनि गरेका छन् । बुटवलमा शनिबार नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौँको सहभागिता रहेको बताए ।
‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे देखेपछि मान्छे हेर्न यहाँ आउ केपी ओली भनेर केही मान्छेले भनेका थिए । आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको यो बुटवल आयोजित जनसभा हेर्नका लागि आउन म उहाँहरूलाई आग्रह गर्न चाहन्छु’, ओलीले प्रचण्डको नामै नलिइ भने, ‘आउनुस् जनसमर्थन कस्तो हुन्छ । उनले ‘तपाईहरुले यसको जवाफ दिनु भएको छ’ भन्दै आयोजकलाई धन्यवाद समेत दिए ।
उनले स्थिरताको पक्षमा जनलहर देखिएको भन्दै आफूले सबैलाई सलाम भन्न चाहेको पनि बताए । आउँदो चुनावको स्वागतका लागि व्यक्त गरेको अभिमतलाई पनि सलाम भन्न चाहेको उनले बताए ।