काठमाडाैं ।। नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोसम्म नेपालभर कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख १३ हजार १ सय ७५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा जारी छैटौं दिनको खोप अभियान अन्तर्गत हिजो प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, लुम्बनी प्रदेशमा १४ हजार ६ सय ४०, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । खोप अभियान आजपनि जारी रहनेछ । यसैबीच सरकारले ७ प्रकारका दीर्घरोगीलाई पनि कोरोना विरुद्धको खोप लगाउने भएको छ । सरकारले ७ प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो । मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here