काठमाडौं ।।  बेलायतबाट फैलिएको कोराना भाइरसको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ।नयाँ प्रजातिको कोरोना भाइरस भेटिएसँगै थप जगकता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । केही दिनअघि बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ३२ वर्षीय र ६७ वर्षीय पुरुषमा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको हो। पुष्टि भएसँगै नेपाल पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।नयाँ भाइरसको सर्ने क्षमता पुरानो भाइरसभन्दा ७० प्रतिशत बढी रहेको प्रमाणित भइसकेको छ । नयाँ भाइरसबाट संक्रमित हुने मानिसहरुको संख्या धेरै हुनसक्ने विज्ञहरुले बताएका छन् ।

सरकारले सीमा नाकामा आवश्यक तयारी नगर्दा नेपाल थप जोखिममा परेको चिन्ता स्वास्थ्य विज्ञहरुले गर्न थालेका छन् ।  सरकारले कोरोनाविरुद्धको भ्याक्सिन खरिदका लागि आवश्यक प्रक्रिया अगाडि नबढाएको अवस्थामा नागरिकहरुको अस्वभाविक भीडभाडले नेपाल संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरुले चेतावनी दिएका छन् । छिमेकी मुलुक भारतलगायतका देशहरुले कोरोनाको खोप प्रयोगमा ल्याउन सुरु गरे पनि नेपालमा त्यसको तयारी देखिँदैन ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकार र नागरिक थप सजग नभए पहिले भन्दा डरलाग्दो अवस्था आउन सक्ने चेतावनी दिए । उनले सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने बताए । त्यस्तै विदेशबाट आउने यात्रुहरुको एयरपोर्टमा एन्टिजेन्ट टेस्ट गर्ने व्यवस्था गर्न सके जोखिम कम हुने उनको विश्वास छ ।

‘धेरै संक्रामक त छैनन् तर, छिटो सर्ने सम्भावना रहेको छ । यसको हालसम्म मृत्युदर कम पाइएको छ । जोखिम वर्गका लागि भने मृत्युदर बढ्न सक्छ । यसबारे सरकार र नागरिकले नजरअन्दाज गर्नु हुँदैन’, उनले काठमाण्डुपाटीसँग भने, ‘ यसका लागि छुट्टै तयारी गर्नुपर्दैन । यसको रोकथामका लागि पुरानै जीवनशैली अपनाउनुपर्छ । सरकारले कडाई गर्नुपर्यो । एयरपोर्टमा एन्टिजेन्ट टेस्ट गर्ने । भारतीय सीमा नाकामा कडाई गर्ने, पिसिआर टेस्टको संख्या बढाउनुपर्ने, टोलटोलमा कन्ट्याक्ट ड्रेसिङ बढाउने, सरकारले उपचारका लागि तयारी अवस्थामा बस्ने ।’

त्यस्तै उनले सरकारको आश गरेर नबस्न पनि नागरिकहरुलाई सुझाव दिएका छन् । डा. पाण्डेले लकडाउनपछि नागरिकहरु पहिलेकै अवस्थामा फर्किएकाले जोखिमको सम्भावना रहेको बताए । उनले भीडभाड युक्त क्षेत्रमा नजान, सभा जुलुश, पार्टी/भोजमा नजान पनि सुझाव दिएका छन् ।

‘नागरिकले संक्रमण भयो भने त्यसको पीडा हामीले भोग्नुपर्छ । त्यसले परिवार र समाजलाई प्रत्यक्ष असर गर्छ । कोरोनाबाट जवानको पनि र बुढाबुढीको पनि मृत्यु भएको छ,’ उनले भने, ‘घरबाट बाहिर निस्कँदा मास्क, भोज पार्टी, भीडभाडमा नजाने, पर्याप्त भेन्टिलेसन भएको कोठामा भेट गर्ने, आन्दोलन गर्नेले दूरी मेन्टेन गर्ने ।’

साथै डा. पाण्डेले सरकारले एकैपटक सबै क्षेत्र खुला गरेर गल्ती गरेको बताए । उनकाअनुसार विद्यालय, सिनेमालगायतका बढी भीडभाड हुने क्षेत्र खुला गर्न सरकारले हतारो गर्न नहुने सुझाव दिए ।

‘सरकारले स्कूल, सिनेमा खोल्ने निर्णयले थप जोखिम बढ्नेछ । हरेक देशमा स्कूलबाट दोस्रो चरणको संक्रमण सुरु भएको छ । अहिले नै स्कूल खोल्न जरुरी छैन् । स्कूल खोलेर पढाउनुपर्ने देखिँदैन । भ्याक्सिन लगाएपछि मात्रै स्कूलहरु खोल्दा राम्रो हुन्छ । खोल्नै परे खुल्ला ठाउँमा, सामाजिक दूरी कायम गरेर खोल्नुपर्यो ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here