काठमाडाैं ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापित भएमा प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।
बुधवार विघटित प्रतिनिधि सभाका सदस्यहरूको भेलालाई बानेश्वरमा सम्बोधन गर्दै नेता नेपालले ओलीसँग सहकार्यका लागि संसद् पुनःस्थापना हुनुपर्ने बताएका हुन् ।
‘सर्वोच्च अदालत या जहाँबाट भएपनि प्रतिनिधि सभा पुनःस्थापना भयो भने ओलीसँग सहकार्य गर्न हामी तयार नै छौ, असंवैधानिक तबरले संसद् विघटन गरेका कारण कारवाही गरिएको हो,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
सांसदहरूको भेलाबाट ओलीलाई संसदीय दलको नेताबाट हटाउने समेत प्रचण्ड नेपाल पक्षको तयारी छ ।
प्रचण्ड नेपाल पक्षले सोमवार सांसदको भेला गरी प्रतिनिधि सभा विघटनलाई अस्वीकार गर्दै संसद्को बैठक बोलाउन माग गरेको थियो ।
सोमवारको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांसदहरू जिवितै रहेकोले बलियो आत्मबलसहित पुनःस्थापना अभियानमा लाग्नुपर्ने बताएका थिए ।
प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटनका लागि कारवाहीस्वरुप ओलीलाई हिजो अनुशासनको कारवाही गर्दै अध्यक्षबाट निष्काशन गरेको थियो ।





