— विनय यादव ।। यो कोभिड–१९ को बहानामा सनातन धर्मप्रति कम्युनिष्ट सरकारको चरित्र देखिएको छ । हिन्दू धर्म संस्कृति र सनातनमाथि मात्रै बन्देज लगाउन खोज्ने, पाठपूजा र इन्द्रजात्रालाई रोक लगाउन खोज्ने र अन्य धर्मावलम्बीहरुलाई निर्वाधरुपमा हुन दिने काम हुँदै आएको छ । राजनीतिक पार्टीहरुले आमसभा, पार्टी प्रवेश, शुभकामना आदानप्रदानको नाममा भीड जम्मा गर्न दिने तर हिन्दू र सनातन संस्कृतिको पर्व त्योहारहरु गर्न बन्देज लगाउने कम्युनिष्ट सरकारको दोहोरो चरित्र र सनातन संस्कृतिप्रति दुर्भावना उनीहरुको देखियो । त्यसकारण सनातन संस्कृतिमाथि कसैले कुठाराघात गर्छ भने हामी त्यसको विरोध गछौं ।
अहिले कोभिडको संक्रमण फैलिनुमा सरकारको नै कमीकमजोरी र असफलता हो । कोभिड नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरु नगरेर आफ्नो असफलता लुकाउनका लागि हिन्दू सनातन धर्मको मठमन्दिर, चाडपर्वमाथि बन्देज गरेर हिन्दू धर्ममाथि प्रहार गर्ने यो कम्युनिष्ट सरकारले प्रयास गरिरहेको छ । अहिले छठ पर्व आइरहेको छ, यसअघि इन्द्रजात्रा थियो । यदि सरकारले चाहेको भए इन्द्रजात्रामा झडप हुँदैनथ्यो । तर सरकारले यात्रा नै रोक्ने काम ग¥यो । त्यस्तै, भगवान पशुपतिनाथको दर्शनका लागि यदि सरकारले चाहेको भए भौतिक दूरी कायम गरेर खुल्ला गर्न सक्थ्यो । यस्तै, छठ पर्वका लागि सरकारले सुरक्षाकर्मी खटाएर व्यवस्थापन मिलाइयो भने समस्या आउँदैन । तर आस्थावान जनताले त छठ गर्छन् । सरकारले आफ्नो असफलता लुकाउनका लागि संस्कृति र पूजापाठ गर्न नै रोक लगाउँदैछ । यो आपत्तिजनक कार्य हो, यसको घोर भत्र्सना गर्छौं । जनताले सरकारलाई चुनौती दिएर छठ मनाएका छन् ।
सरकारले पर्व नमनाउनु भनेको छैन तर एक ठाउँमा जम्मा भएर नमनाउनु भनेको हो छ नि । छठ पर्व घरमा मनाउन सकिँदैन । सनातन प्रथा हो, सरकारले यो कुरा बुझिरहेको छ । प्रशासन र सरकार यदि चनाखो भइदिएको भए प्रहरी लगाएर भौतिक दूरी कसरी कायम गरेर पूजापाठ गर्ने भन्ने कुराको व्यवस्थापन गरिदिएको भए कोभिड पनि नियन्त्रण हुन्थ्यो । त्यसकारणले काठमाडौंको कमलपोखरी, रानीपोखरी लगायत जहाँ जहाँ छठको घाटहरु छन्, त्यहाँ सरकारले प्रहरी परिचालन गरेर कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरातिर अग्रसरता लिनुपर्ने थियो । यसमा सरकार उदासीन देखियो । सरकारको यो ठूलो लापरवाही हो, यसले गर्दा कोभिड फैलिरहेका छन् । केपी ओलीको पक्षमा प्रदर्शन र जुलुस हुँदा कहाँ हरायो सरकार ? त्यसबाट कोरोना फैलिँदैन ? आज मधेशमा हेर्नुस्, सबै राजनीतिक दलहरुले ठूलो–ठूलो आमसभाहरु गर्दैछन्, त्यसबाट कोरोना फैलिँदैन ? मस्जिदमा नमाज अदा गर्न गइरहेका छन्, त्यसबाट कोरोना फैलिएको छैन, चर्चमा प्रार्थना गर्न जाँदा कोरोना फैलिँदैन तर हिन्दूहरु आफ्नो पुजापाठ गर्न यदि सामूहिकरुपमा एकठ्ठा भए भने त्यसबाट कोरोना फैलिने भन्ने जुन कुरा छ, यो सरासर हिन्दू समाजलाई दबाउने कार्य हो । यो कार्य असहनीय छ, हिन्दू समाजले यसको प्रतिकार गर्छ ।
सरकारले छद्म धर्म निरपेक्षताको आडमा हिन्दू संस्कृतिमाथि दमन गर्न खोजिरहेको छ, समाप्त पार्ने जुन कुचेष्टा छ, त्यहींअनुसार सरकार चलिरहेको छ । विदेशी धर्म संस्थाहरुले सरकारलाई डलरको लोभ देखाएर हाम्रो धर्म संस्कृतिमाथि प्रहार भइरहेको छ । सरकारले यी कुराहरुलाई सच्याउनुपर्छ । हिन्दू मठमन्दिरहरु, तीर्थस्थलहरु खोलिनुपर्छ । कोभिडको महामारी छ भने भौतिक दूरी कायम गराएर पूजापाठ गराउने सरकारको जिम्मेवारी हो ।
विदेशीहरुको चलखेल चलिरहेको कुरा सञ्चारमाध्यमहरुमा आइरहेकै छ । यो सरकारमाथि विदेशी पश्चिमाहरु अथवा बेधर्मीहरुको दबाब छ । एक कम्युनिष्टहरुले आफैमा धर्मलाई मान्दैन । यिनी भन्छन् कि सबै धर्मलाई हामी समान दृष्टिले हेर्छौं तर खोई यहाँ समान दृष्टिले हेरेको त ? यदि समान दृष्टि भएको भए चर्च खोल्न पाउने, मस्जिद खोल्न पाउने, पार्टीको कार्यक्रम गर्न पाउने, केपी ओलीको पक्षमा नारा जुलुस गर्न पाउने तर हिन्दूहरुको मठमन्दिरहरु खोल्न नपाउने यो कस्तो धर्म निरपेक्षता हो ? कम्युनिष्ट सरकारको यो दोहोरो चरित्र हो । धर्मनिरपेक्षताको नाममा हिन्दूलाई अपमानित गर्ने, संस्कृतिलाई समाप्त पार्ने यो षड्यन्त्र हो ।
सरकारको यो नाकामी हो कि यस्तो निर्देशन जारी गर्छ । सरकारले विकल्प दिन सक्थ्यो । विकल्प भनेको घाटहरुलाई व्यवस्थित गर्ने, भौतिक दूरी कसरी कायम गरेर छठ मनाउन सकिन्छ भन्ने कुरामा केही कार्य गर्नुपर्दथ्यो । घर–घरमा छठ मनाउनुस् भन्ने निर्देशन जारी गर्दा पनि आमजनताले त मान्दैन । छठ घाटहरुलाई कसरी व्यवस्थापन गर्ने यो विषयमा स्थानीय प्रशासनहरुले ध्यान दिनुपर्ने थियो । तर स्थानीय प्रशासनले रोक लगाउने जुन निर्देशन दिए, यो कुरा लागू हुँदैन । रोक लगाउने जुन निर्देशन दिएको छ यो आपत्तिको विषय हो, यसको हामी भत्र्सना गर्छौं । हामी छठ व्रतालुसँग छौं, छठ पर्व गर्न पाउनुपर्छ । आमजनता कोभिडसँग चेतनशील छन् । हामी आग्रह पनि गर्न चाहन्छौं कि सामाजिक दूरी कायम गरेर सतर्कताका साथ छठ पर्व मनाऔं र आफ्नो परम्परालाई जोगाऔं ।
हामीले आफ्नो स्वयम्सेवक तथा आमनागरिकलाई आग्रह गर्न चाहन्छु कि यो विषम् परिस्थिति भएपनि उच्च सतर्कताका साथ सामाजिक दूरी काम गर्ने वातावरण बनाइ आफ्नो परम्परालाई निरन्तरता दिऔं । म सरकारलाई पनि आग्रह गर्दछु कि निर्देशनको नौटंकी छोड्नुस्, बन्देजको नौटंकी छोड्नुस् । सनातन परम्परा यो देशमा जोगिरह्यो भने धार्मिक पर्यटन आउँछन्, धार्मिक पर्यटन आए भने देशको आर्थिक स्थिति उभोतिर लाग्छ । त्यसकारणले हाम्रो परम्परासँग सरकारले छेडछाड नगरोस् । त्यसकारणले यो महामारीमा पनि परम्परालाई कसरी जोगाउने, आफ्नो परम्परालाई विश्व सामु पु¥याउने भन्ने कुरामा ध्यान दिन सरकारसँग आग्रह गर्न चाहन्छु ।
संविधान जारी हुँदा म आफैले संविधानमा रहेको धर्मनिरपेक्षता बुँदालाई सडकमा जलाएको थिएँ । त्यहीं बेलादेखि नेपाल पुनः हिन्दू राष्ट्र कायम गराउनका निरन्तर आन्दोलनमा छु । देश संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र राष्ट्र हुनुपर्छ । किनभने यो देशको जुन सनातन पहिचान हो त्यसलाई मासेर हुँदैन, त्यो पहिचानलाई हामी विश्व सामु पु¥याउन सक्यौं विश्वभरिका एक अर्ब हिन्दूहरुको तिर्थस्थल बन्न सक्छ । त्यसबाट हाम्रो देशको आय स्थिति सुध्रिन्छ । अर्को कुरा यहाँको हिन्दूत्व देशको राष्ट्रियतासँग जोडिएको विषय हो । हिन्दूत्व नै यो देशको राष्ट्रियता हो । आफ्नो संस्कृति छोडेर कुनै पनि देश अगाडि बढ्न सकेको छैन । जुन–जुन देश आफ्नो संस्कृति गुमायो, ती देशहरु आज कंगाल भएका छन् । नेपाल पनि त्यो बाटोमा नजाओस् । गणतन्त्र दुनियाँको सबभन्दा राम्रो व्यवस्था हो । त्यसकारण हामी संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको परिकल्पना गर्छौं । विश्वसामु यहाँको संस्कार, संस्कृति र परम्पराहरुलाई चिनाउँछौं ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here