राैतहट ।। लगातारको वर्षाको कारणले रौतहटका नदीहरुमा पानीको बहाव बढ्दै गएको छ । लागातार वर्षाको कारण जिल्लाको प्रमुख दुई ठुल्ला नदि वागमति र लालबकैयाका साथै लम्हा, चाँदी झाँझ लगाएतका नदिहरुमा बाढी आएको छ । जिल्लाको पुर्वि भेग स्थित रहेको वागमति नदिमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यस्तै लालबकैया र झाँझ नदीमा समेत पानीको जलस्तर बढेपछि आसपासका क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो । वागमतिमा पानीको बहाव बढ्दै गएपछि वागमति सिचाई आयोजनाले नदिका सबै ढोका खोलिसकेको बताईएको छ । वागमति, लालबकैया र झाँझ नदीमा बाढी आएकोले गाउँ बस्तीहरु डुवानमा पर्ने खतरा बढेको छ । ति नदिहरुमा आउने बाढीका कारण हरेक वर्ष गढिमाई, गरुडा, माधवनारायण, गौर नगरपालिका सहित जिल्लाका अधिकांश स्थानीय तहका सयौं गाउँ डुबान पर्ने गरेको छ भने यो क्षेत्र वर्षेनी वर्षातयाममा बढी नै प्रभावित हुने गरेको छ । नदीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गर्छन् भने अधिकांश गाउँवासीको उठिवास हुने गर्छ । नदीमा पानीको सतह बढदै गएपछि वागमति, लालबकैया र झाँझ नदिको वरपर बस्नेहरु त्रसित बनेका छन । नदीको पानी गाउँ बस्तीमा पसेर जनधनको क्षति पुरयाउन सक्ने भन्दै नदि किनारका बासिन्दाहरु त्रसित भएका छन । बाढीले जिल्लाको विभिन्न नदीहरुको बाँधलाई क्षति गर्न शुरु गरेको छ । समयमै बाँधलाई मर्मत सम्भार गरिएन भने बाढीले ठुलो जनधनको क्षति गर्न सक्ने भएको हुनाले तत्काल मर्मत सम्भारको काममा लाग्न सर्वसाधारणहरु सम्बन्धित निकायलाई आग्रह गरेका छन । लगातारको वर्षापछि जिल्लाका ठुला साना सबै नदीहरुमा थप बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले उच्च सतर्कता अपनाउदैँ नदी वरिपरी नजान सर्वसाधारणहरूलाई अपिल समेत गरेको छ । यसैविच लगातारको वर्षाले वागमति सहित विभिन्न नदीहरुमा आएको बाढीले जिल्लाको विभिन्न गाउँहरु डुवानमा पर्न थालेको छ । वर्षा र बाढीको पानीले जिल्लाको गेडहीगुठी, बन्जरहा सहित दर्जनौ गाउँ डुवानमा परेको छ । यसैगरी राजपुर नगरपालिका ८ बलुवा टोलमा पनि बाढीको पानी पसेको छ । बलुवा टोलका २० घरमा लालबकैयाको बाढी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिकाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पस्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभएको छ । वर्षा नरोकिए बाढी अरु बस्तीमा पस्ने खतरा रहेको छ । बकैया नदीको पाँच स्थान र वागमती नदीको एक स्थान अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो । देवाही गोनाही नपाको करुनिया मुसहरी टोल, परोहाको तेजापाकड, कटहरियाको हर्षाहा, फतुवा विजयपुरको लक्ष्मिनियामा बकैया नदीको बाँध तथा वागमतीको माधवनारायण नगरपालिकाको पिपरा रजवाडामा बाँध अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले त्यहाँ बाढीको अवस्था निगरानी गर्न सुरक्षाकर्मी खटाइएको छ । नदीको बाढीले ति ठाउँका बाँधहरु अहिले देखी नै कटान गर्न शुरु गरेकोले समयमै उक्त बाँधहरुको मर्मत सम्भार नगरिए बाढीले तटबन्धलाई नै भत्काएर गाउँ बस्तीमा पसी ठुलो जनधनको क्षति पुरयाउन सक्ने खतरा रहेको छ । बाढीबाट क्षतिग्रस्त बाँधहरुलाई मर्मत सम्भार गर्नको लागि सुरक्षाकर्मी खटाईएको र जोखिम भएको ठाउँहरु पहिचान गर्ने काम पनि भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभएको छ । वागमति, लालबकैया, चाँदी, झाँझ लगाएतका नदीको बाढीबाट हुन सक्ने सम्भावित खतरालाई मध्य नजर गर्दै सबै प्रहरी युनिटलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको रौतहट प्रमुख प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here