काठमाडौं ।। एभरेष्ट प्रिमियर लिग (इपिएल) को यसपटकको संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएललाई आइसिसीले मान्यता दिएको यो तेस्रो पटक हो ।‘ यसको कन्र्फमेसन आएको हो,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘ यसको अर्थ हामीले राम्रै काम गरिरहेका छौं भन्ने हो ।’अब इपिएलले आइसिसीलाई २० हजार अमेरिकी डलर शुल्क बुझाउपर्नेछ ।
इपिएलको चौथो संस्करण चैत १ गते देखि १५ गते सम्म त्रिवि मैदानमा हुने यसअघि नै सार्वजनिक भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि त्यो मितिलाई स्वीकृति दिइसकेको आख्तरले जानकारी दिए ।
इपिएलमा साविक विजेता ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन् ।
यसपटक इपिएलको सर्वाधिक आक्रषणका रुपमा वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस खेल पोखरा राइनोजबाट खेल्ने भएका छन् । उनले पनि भिडियो मार्फत आफु नेपाल आउन र इपिएल खेल्नका लागि उत्साहित रहेको बताएका थिए ।
गेल अघि वेष्ट इन्डिजकै ड्वान स्मिथ, श्रीलंकाका उपुल थारंगशा, अफगानिस्तानका मोहम्मद साहजादले यसपटकको इपिएल खेल्ने पक्का भइसकेको छ । घरेलु क्रिकेटका तीन फ्रेन्चाइज क्रिकेट मध्ये पोखरा प्रिमियर लिग (पिपिएल) यसअघि नै सम्पन्न भइसकेको छ ।
अर्को धनगढी प्रिमियर लिग भने यो वर्ष नहुने भएको छ । राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय तालिकाका यो वर्ष आयोजना नहुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी गराइसकेको छ । डिपिएल अब २०७७ को कात्तिकमा हुनेछ ।












